
दैलेखः नारायण नगरपालिका भित्र रहेको विद्यालयका प्राधानाध्यापकलाई २ दिने तालिमको शुभारम्भ गरिएको छ । नेपालमा प्रारम्भिक बालशिक्षा र सवलीकरणका लागि प्रारम्भीक सिकाई तथा विकास मापदण्ड परियोजना सेतो गुराँस बाल विकास सेवा दैलेख र नारायण नगरपालिकाको सहकार्यमा तालिम आयोजना गरेको हो ।
तालिममा नारायण नगरपालिका भित्रका ३८ वटा विद्यालयका १९ जना प्राधानाध्यापकहरुको उपस्थिती रहेको थियो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले प्राथमिक विद्यालयबाट बालबालिकाहरुलाई दिगो सिकाईका लागि शिक्षा दिनुपर्ने बताए ।
उनले सेतो गुराँस बालविकास सेवा दैलेखको सहयोगमा बालबालिकाको सिकाईमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे । सिकाइलाई थप प्रभावकारी बनाउन शिक्षक, प्राधानाध्यापकको भूमिका महत्वपूर्ण हुने बताउँदै शर्माले शिक्षकले बालबालिकाको मनोविज्ञानलाई ख्याल गर्दै सिकाईमा ध्यान दिनुपर्ने बताए ।
नगर प्रमुख शर्माले बालविकास केन्द्र र कक्षा १ मा अध्ययन गर्ने बालबालिकाहरुको स्वास्थ्यमा विद्यालयले बिषेश ख्याल गर्नुपर्ने बताए । उनले नगरपालिकाले आगामी बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिने र कक्षा कोठाको भित्रि, बाहिरी वातावरण सिकाई क्षेत्र व्यवस्थापनमा सेतो गुराँस दैलेखसँग सहकार्यमा अगाडि बढ्ने बताए ।
नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्यायले तालिममा कुराहरु दोहोरीने भएपनि सिकाई महत्वपूर्ण हुने बताए । उनले शिक्षा क्षेत्रमा तीनै तहका सरकाहरुले लगानी बढाउँदै गए पनि लगानी अनुसारको प्रतिफल नदेखिने गरेको बताए । ‘बालबालिकालाई पढ्ने वातावरण शिक्षकले तयार गर्नुपर्ने बताउँदै शिक्षकले आफ्नो अधिकार माग्दै गर्दा बालबालिकालाई दिने शिक्षामा विषेश ख्याल पर्छ’, उनले भने ।
सेतो गुराँस दैलेखका निर्देशक राधा मल्लले बालबालिकाको सिकाईमा परिवर्तन ल्याउने उद्देश्यले कोरोना महामारीका कारणले बालबालिकाको सिकाई झनै प्रभावित भएको र बालबालिकाको आवश्यक्ता अनुसार सुधार, प्रवद्र्धन गरी सिकाई विकासको क्षयतिलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले प्रारम्भीक बालविकास तथा शिक्षा कार्यक्रममा रहेका बालबालिकालाई प्रारम्भीक सिकाई तथा विकास प्रगति विवरणमा आधारित निमार्णत्मक मूल्याङ्कन स्रोत पुस्तिका कार्यान्वयन हुन छिटो जरुरी रहेको बताइन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउन नारायण नगरपालिका विद्यालय परिवार अभिभावक र सरोकारवाला सबैले महत्वपूर्ण भूमिका रहने निर्देशक मल्लको भनाई छ । कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै प्रधानाध्यापक पुष्पा कुमारी थापाले बालविकास शिक्षक र कक्षा १ को शिक्षकलाई तालिम पूर्व नै प्रधानाध्यापकहरुलाई दिइने तालिमले कक्षा व्यवस्थापन र सिकाईमा सहयोग पुग्ने बताइन् ।
सेतो गुराँस बालविकास सेवा दैलेखका अध्यक्ष गिता रम्तेलले कर्णालीका ७९ स्थानीय तह मध्ये यो कार्यक्रम दैलेखको नारायण नगरपालिकाका ३८ वटा विद्यालयमा सञ्चालन भएको र यसलाई अवसरका रुपमा लिएर स्थानीय सरकार सम्बन्धित विद्यालयले कार्यन्वयन गर्दै अघि बढ्नुपर्ने बताईन् ।
दुई दिने तालिमको सहयोग यूनीसेफ नेपाल र प्राविधिक सहजीकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवा र सेतो गुराँस दैलेख, नारायण नगरपालिकाको सहकार्यमा सुरु भएको हो । उक्त तालिमको सहजीकरण राधा मल्ल, नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्याय र लली बारघरेले गरेका थिए ।











